गरुड पुराण हिन्दू धर्मको एक अत्यन्तै महत्वपूर्ण ग्रन्थ हो, जसले जीवन र मृत्युको रहस्य मात्र होइन, आत्मा, पाप–पुण्यको प्रभाव, स्वर्ग र नरकको यात्रा लगायतका विषयमा विस्तृत रूपमा चर्चा गर्दछ। यो पुराण भगवान विष्णु र गरुड बिचको संवादका रूपमा प्रस्तुत गरिएको छ। गरुड पुराणले मानिसको जीवनलाई आध्यात्मिक दृष्टिले कसरी उन्नत बनाउन सकिन्छ भन्ने विषयमा मार्गदर्शन दिन्छ। यसलाई हिन्दू धर्मका १८ पुराणमध्ये एक मानिन्छ। विशेषगरी यो ग्रन्थ मृत्यु संस्कारमा पढ्ने परम्परा छ। तर यसको शिक्षा कुनै पनि समयमा सबैका लागि उपयोगी छ।
गरुड पुराण मुख्यत: दुई खण्डमा विभाजित छ: आचार खण्ड र प्रेत खण्ड।
आचार खण्ड: यस खण्डमा धर्म, नीति, योग, ध्यान र भक्ति जस्ता विषयमा चर्चा गरिएको छ। यहाँ मानिसले जीवनमा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने विषयलाई प्राथमिकतामा राखिएको छ। यसले मानिसलाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ। मानिसले कसरी आफ्नो जीवनमा धर्म पालन गर्न सक्छ, समाज र परिवारप्रतिको कर्तव्य पूरा गर्न सक्छ भन्ने शिक्षा यस खण्डमा पाइन्छ।
प्रेत खण्ड: यो खण्ड खासगरी मृत्यु, मृत्युपछिको आत्माको यात्रा, पाप–पुण्यको फल, स्वर्ग–नरकको वर्णन र मृत्यु संस्कारका विधिहरूलाई केन्द्रित छ। यसमा मृत्युपछि आत्माको यमराजको सभामा प्रवेश, चित्रगुप्तद्वारा लेखिएको कर्मको हिसाब–किताब, र आत्माले भोग्नुपर्ने सजाय वा पुरस्कारका बारेमा उल्लेख गरिएको छ।
गरुड पुराणले मृत्युको प्रक्रिया र मृत्युपछि आत्माले भोग्नुपर्ने अवस्थाहरूको सूक्ष्म विवरण दिन्छ। पाप र पुण्यको आधारमा आत्माले स्वर्ग वा नरक प्राप्त गर्दछ। गरुड पुराणमा २८ प्रकारका नरकहरूको वर्णन गरिएको छ, जसमा आत्माले आफ्ना पापका आधारमा सजाय भोग्नुपर्छ। उदाहरणका लागि,
- तमिस्र नरकमा – लोभ र धोका गर्नेहरूलाई कठोर सजाय दिइन्छ।
- कुम्भीपाक नरकमा – हिंसक र निर्दयी व्यक्तिहरूलाई उमालेको तेलमा पकाइन्छ।
- रौरव नरकमा – जिवित प्राणीलाई दुख दिएको व्यक्तिले भयानक पीडा भोग्नुपर्ने बताइएको छ।
गरुड पुराणले मृत्यु संस्कारका विधिहरूको पनि विस्तृत वर्णन गर्दछ। मृतकको आत्माले शान्ति पाओस् भन्ने हेतुले गरिने कर्मकाण्ड, श्राद्ध, तर्पण आदि विधिहरू यस ग्रन्थमा उल्लेखित छन्। मृत्युपछि गरिने १३ दिने संस्कार र आत्माको मुक्ति सुनिश्चित गर्ने विधिहरूमा समेत विशेष जोड दिइएको छ।
तर गरुड पुराण केवल मृत्यु र मृत्युपछिको कुरा मात्र गर्दैन। यसले जीवनलाई धर्ममय र सद्गुणयुक्त बनाउनका लागि के–के गर्नुपर्छ भन्ने सन्देश पनि दिन्छ। भगवान विष्णुले यस ग्रन्थमार्फत बताउनुभएको छ कि मानव जीवन दुर्लभ छ र यसलाई सदुपयोग गर्नुपर्छ। मानिसले सधैं सत्यको बाटो अपनाउनु पर्छ, दान, भक्ति, र धर्मका कार्यहरू गर्नुपर्छ।
गरुड पुराणका शिक्षा केवल मृत्युपछि लागु हुने मात्र होइनन्। यसले वर्तमान जीवनलाई पनि उच्चतम बनाउने शिक्षा दिन्छ। आत्माको शुद्धि, सत्य मार्गमा हिँड्ने प्रेरणा, र जीवनको सही उद्देश्य खोज्नका लागि यो ग्रन्थ महत्वपूर्ण स्रोत हो।
त्यसैले गरुड पुराणलाई केवल मृत्यु संस्कारमा मात्र सीमित नराखी, यसको ज्ञानलाई हाम्रो दैनिक जीवनमा पनि लागू गर्नुपर्छ। यसले हामीलाई मृत्युको भयबाट मुक्त गरेर जीवनलाई साकारात्मक दृष्टिकोणबाट हेर्न सिकाउँछ। यदि तपाईं यो जानकारीलाई उपयोगी ठान्नुहुन्छ भने, आफ्नो साथीहरू र परिवारसँग बाँड्न नबिर्सनुहोस्। यसले अरूलाई पनि धर्म र अध्यात्मप्रतिको चासो बढाउन मद्दत गर्न सक्छ।